logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

राति फेरि थपियो वर्षा, खेत बाँझो नबस्ने आश


  • उज्यालो अभियान

लालबन्दी, १९ साउन – सर्लाहीमा गएराति फेरि आकाशे वर्षा थपिएको छ ।

जिल्लाभर नै राति पुनः मनग्य वर्षा भएको हो । यसअघि शनिबार रातभर पनि पानी परेको थियो । यसरी दुई रात पर्याप्त पानी परिसकेकाले अब धान रोपाइँ हुन बाँकी रहेको सबै खेतमा रोपाइँ हुने आश पलाएको छ ।

सर्लाहीमा आज पनि बिहानैदेखि मौसम धुम्मिने, बेलाबेलामा पानी छिट्याउने भइरहेकै छ । साउन दोस्रो सातासम्म खडेरी र १७/१८ गतेतिर आएर पर्याप्त पानी परिरहँदा किसान खुसी देखिन्छन् ।

लामो प्रतिक्षापश्चात पर्याप्त वर्षा हुँदा मधेश भरकै किसानलाई तत्कालका लागि राहत मिलेको छ । अहिले परेको पानीले बाँझो रहेको खेतमा रोपाइँ गर्न र रोपिसकेको रोपो सुक्नबाट जोगिएपछि किसान खुसी भएका छन् ।

सर्लाहीमा चुरेवर्ती क्षेत्रमा एक सातामै ६÷७ पटक नै पर्याप्त वर्षा भइसकेको छ । पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगमा भने वर्षा हुन सकेको थिएन । हिजो र अस्ती राति सबैभेगमा जमिन भिज्ने गरी पानी परेपछि किसान खुसी भएका हुन् ।

कविलासी नगरपालिका–७, सिर्सियाका रामआश्रीत महतोले अत्यधिक सुक्खा हुँदा मोटर चलाएर मुस्किलले रोपाइँ गरिएको र अहिले आकाशे वर्षा भइरहँदा धान बालीलाई अृमतसरह काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । धेरै दिनसम्म आकाशे वर्षा नहुँदा सर्लाहीमा कविलासी, मलङ्गवा, ब्रह्मपुरी, पर्सा, कौडेनालगायत पालिकामा बढी समस्या देखिएको थियो । यि पालिकाहरुमा पनि बाँझो रहेको खेतमा धमाधम रोपाइँ भइरहेको कृषि शाखाले जनाएका छन् ।

छिप्पिसकेको र यसअघिको घामले ब्याड डडिसकेका किसानलाई भने कतकतै समस्या पनि परेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार अहिलेसम्म जिल्लाभर ७० प्रतिसतको हाराहारीमा धान रोपाइँ भएको छ । वर्षा भएर मौसम अनुकूल भएकाले अब दुई÷चार दिनमै रोपाइँको प्रतिसत बढ्ने कुशवाहाको भनाइ छ ।

लालबन्दी नगरपालिका–१६, परवानीपुरका कृष्ण गौतमले कालिन्जोर खोलाको कुलोबाट पानी लाग्ने आफूहरुको क्षेत्रमा अधिकांश किसानले धान रोपाइँ सकिसकेका जानकारी दिए । उनले धानमा हरियो फिरेर गाँज हाल्न थालिसकेकाले रासायनिक मल समेत हाल्न थालिसकेको बताए ।

यसैबिच, आज कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । मधेशसहित कोशी, लुम्बीनी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार शुक्रवारयता देशका धेरै ठाउँमा पानी परेको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै धनुषामा ७४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै रौतहट, मकवानपुर, बारा, पाल्पा, गुल्मी, बागलुङ, दाङलगायतका जिल्लामा पनि पानी परेको छ । आजराती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । मौसमी सूचनाको सही जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।