logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रानिगन्जमा पुरुषको शव बरामद


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

रानिगन्ज, ११ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा आइतबार एक वृद्ध मृत फेला परेका छन् ।

पूर्वपश्चिम राजमार्गबाट साहेबगन्जतर्फ जाने चोकमा रहेको चौतारामा वृद्ध मृत फेला परेका हुन् । मृतक मोरङको सुन्दरहरैचा नगरपालिका–७, गच्छिया टोलका ६५ वर्षीय धनबहादुर कार्की रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।

सुरुमा नाम, ठेगाना खुल्न नसके पनि पछि मृतकका ज्वाइँ आएर शवको सनाखत गरेका लालबन्दी प्रहरीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले उज्यालो अभियानसँग बताए । बाटोमा हिँडेका बटुवाले चौतारामा बेवारिसे वृद्धको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा कार्कीको कालगतीले नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको लालबन्दी प्रहरीले जनाएको छ ।