नवलपुर, १० साउन – सर्लाहीमा सवारी दुर्घटनाबाट हुने मृत्युदरमा कमी आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या २३ प्रतिसतले घटेको हो । सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०८१/८२ मा ५६ जना र आर्थिक वर्ष २०८०/८१ मा ७३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३७ सवारी दुर्घटनामा ५०१ जना गम्भीर र एक हजार १८० जना सामान्य घाइते भएका छन् । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा ६१४ जना गम्भीर र ५०४ जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।
सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोश घिमिरेले सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित चेकजाँच, क्षमता भन्दा बढी भार बोक्ने सवारीलाई कारवाही, यान्त्रिक परीक्षणसहितका सचेतनामूलक कार्यक्रम नियमित गर्दै आइरहेको जानकारी दिए । पछिल्लो समय जताततै कालोपत्रे सडक निर्माण भएपछि तीव्र गतिमा मोटरसाइकलसहित अन्य सवारी साधन संचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति चूनौतिको रुपमा रहेको ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।
इन्स्पेक्टर घिमिरेका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम विपरीत सञ्चालन गरिएका २० हजार ३४ सवारी साधनलाई कारवाही गरी दुई करोड दुई लाख १८ हजार ५२० रुपियाँ राजस्व सङ्कलन भएको छ ।