जनार्जन खत्री/लालबन्दी, ०९ साउन – सर्लाही, महोत्तरी र धनुषामा पूर्वपश्चिम राजमार्ग विस्तारको काम धमाधम भइरहेको छ ।

गएको पुस १७ गतेदेखि कमला–पथलैया खण्ड अन्तर्गत तीनवटा जिल्लामा विस्तार भइरहेको राजमार्गको अहिलेसम्म १० प्रतिसत काम पूरा भएको छ । सन् २०२७ सम्ममा चार लेनको सडक निर्माण गर्ने उद्देश्यसहित छ महिनामा १० प्रतिसत काम पूरा भएको कमला–ढल्केबर–पथलैया सडक योजना पूर्वी खण्डले जनाएको छ । आयोजनाका प्रमुख छविलाल पौडेलले सुरुमा ‘साइड क्लियर’ गर्नै चूनौति परेकाले काम गर्नै मुस्किल परेको बताए । अहिले वन क्षेत्रमा रुख छाडेर काम गरिएको छ । कमला नदीदेखि पथलैयासम्म १३० किलोमिटरमध्ये अहिलेसम्म धनुषा, महोत्तरी र सर्लाहीमा मात्रै काम भइरहेको छ ।

रौतहट र बारा खण्डमा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ठेक्का लाग्न सकेको छैन् । धमाधम विस्तार भइरहेको राजमार्गको कमलादेखि पथलैयासम्म १३० किलोमिटर सडकको दायाँबायाँका रुख व्यवस्थापनका लागि बल्ल स्वीकृति आएकाले अब रुख कटान गरेपछि कामले अझ गति लिने अपेक्षा गरिएको आयोजना प्रमुख पौडेलको भनाइ छ ।

वन तथा भू–संरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन महोत्तरीको गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनामा पत्राचार गरेको छ । आयोजनाले रुख कटानकै लागि लामो समयदेखि प्रयास गर्दै आएको थियो ।

२०८१ सालमै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) स्वीकृति भए पनि कटान आदेश बल्ल आएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी खण्डको विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा विस्तारको काम चलिरहेको हो । एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तारोन्नतीको कामका लागि ठेक्का सम्झौता भएको हो ।

सडक विस्तारका लागि धनुषा र सिरहाको सीमा कमला पुलदेखि धनुषाको बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने धनुषाको बडहरीदेखि सर्लाहीको फूलजोर र फूलजोरदेखि सर्लाही र रौतहटको सीमा बागमती पुलसम्मको खण्डमा चाइनिज कम्पनी एसडब्ल्यु इजे र रसुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले काम गरिरहेका छन् ।

छ महिनाको अवधिमा १५ प्रतिसत काम भइसक्नु पर्नेमा रुख, बिजुलीका पोल, खानेपानीका पाइप, टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन लगायतका कारण १० प्रतिसत काम मात्रै पूरा भएको आयोजना प्रमुख पौडेलको भनाइ छ । कमला–बागमती पूर्वी खण्डमा ३४ पुल र १०० वटा कलभर्ट निर्माण गर्नुपर्नेमा १५ पुल र १७ वटा कलभर्टमा मात्र काम गर्न सकिएको छ ।

सर्लाहीमा सबैभन्दा पहिले काम सुरु गरिएको लालबन्दी १ स्थित बागवानी जंगलमा कलभर्ट निर्माणको काम पूरा भइसकेको छ । कमलादेखि बागमतीसम्म सर्लाहीकै लालबन्दीमा पहिलो ‘ओभरपास’ निर्माणका काम तीन सातादेखि जारी छ ।
