logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

साउने सोमबार : सर्लाहीका शिवालयमा दर्शनार्थीको घुइँचो


  • उज्यालो अभियान

अनिता देवकोटा/लालबन्दी, ०५ साउन – साउने सोमबार सुरु भएसँगै सर्लाहीसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।

दर्शनार्थी तथा व्रतालुले आज पहिलो सोमबार नजिकैको शिवालयमा पुगेर पूजाआज तथा दर्शन गरेका छन् । सर्लाहीमा आज दिनभर यहाँका महादेव मन्दिर अर्थात् शिवालयमा दर्शनार्थी खचाखच देखिन्थे ।

लालबन्दीको डुमडुमे, हरिवनको सुखेपोखरी र कैलाशपुरी, मुर्तियाको मुक्तेश्वर, ईश्वरपुरको सागरनाथसहित जिल्लाका २० वटै पालिकामा रहेका महादेव मन्दिरमा दिनभर नै दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको हाम्रा संवाददाताले जनाएका छन् । जिल्लामै प्रख्यात लालबन्दीस्थित डुमडुमे मन्दिर परिसरमा त दिउँसो अबेरसम्म पनि व्रतालु तथा दर्शनार्थीले लामवद्ध भएर पूजा गरेका छन् ।

अब साउनका प्रत्येक सोमबार यहाँका शिवालयमा दर्शनार्थीको यसैगरी भीडभाड हुन्छ । यस्तै सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा जल उठाउन पुग्ने पनि उत्तिकै हुन्छन् । विशेष गरी भारतीयहरु बागमतीको जल उठाउन आउने गरेका छन् ।

नवलपुर–मलंगवा तथा पूर्व पश्चिम राजमार्गमा भारतीय तिर्थयात्रीको आउजाउ सुरु भइसकेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित पूजामा सहभागी हुने चलन छ ।

सर्लाहीका लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बयलवास, मलंगवालगायतका बजारमा साउनमा प्रयोग हुने श्रृङ्गारका सरसामग्रीको व्यापार बढेको छ ।