logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मृत भेटिए भुजेल


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी, १७ असार – सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा आज दिउँसो एक वृद्ध मृत फेला परेका छन् ।

सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके खोला नजिकै घारिबथानतर्फ बर्दीवास नगरपालिका–१०, खयरमाराका अन्दाजी ६० वर्षीय बद्री भुजेल मृत फेला परेका हुन् । स्थानीयका अनुसार श्रीमती, छोराछोरी कोही नरहेका भुजेल गाउँघरमा डुलेर हिँड्ने गर्थे ।

भुजेललाई फूलजोर बाबा साझेदारी वनको पलौट क्षेत्रमा गाईवस्तु चराउन गएका मानिसले हिजो साँझपख घारिबथानतर्फ आइरहेको देखेका थिए । आज दिउँसो फेरि गाईवस्तु चराउन गएकै मानिसले उहाँलाई मृत फेला पारेका इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमाकान्त जोशीले उज्यालो अभियानसँग बताए ।

भुजेलको हिँड्दाहिँड्दै थकाइ मार्न बसेको ठाउँमा मृत्यु भएको जस्तो देखिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

गाउँले र जनप्रतिनिधिको रोहबरमा घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानले जनायो ।