logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

५ बुँदे माग राखेर सिंहले सुरु गरे आमरण अनसन


  • उज्यालो अभियान

बरहथवा, २९ जेठ – डेढ वर्षअघि सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका जयशंकर साहको सालिक निर्माणसहित विभिन्न ५ बुँदे माग राखेर आमरण अनशन सुरु भएको छ ।

जनमत पार्टीको बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहले आजदेखि बरहथवा नगरपालिका कार्यालय अगाडि आमरण अनसन सुरु गरेका हुन् । बरहथवा नगरपालिका ६ का अन्दाजी ३० वर्षीय जयशंकरको २०८० पुस २० गते प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर जयशंकरको मृत्यु भएपछि केही दिन अवस्था तनावग्रस्त बनेको थियो । जयशंकरको मृत्युपछि त्यसबेला जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सहमती कार्यान्वयन नभएको भन्दै जनमत पार्टीका नगर अध्यक्ष सिंहले आमरण अनसन सुरु गरेका हुन् ।

सिंहले जयशंकरको सालिक निर्माण र जयशंकरकै नामबाट बरहथवा नगर अस्पतालको नामाङ्करण गर्नुपर्ने माग रोखका हुन् । यस्तै बरहथवा नगर अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन, बरहथवा नगरपालिकाको ३ वर्षको आय–व्यय विवरणसहित सार्वजनिक गर्न र नगर अस्पताल निर्माण गर्न निकास गरिएको बजेटको खर्चको अवस्था सार्वजनिक गर्न समेत माग गरेका छन् ।

सिंहले आफ्ना माग सम्वोधन नहुन्जेल आमरण अनसन जारी राख्ने बताए ।