logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मलंगवामा विपद् पूर्व तयारी अभ्यास


  • उज्यालो अभियान

मलंगवा, २९ जेठ – सर्लाही सदरमुकाम मलंगवामा आज विपद् पूर्व तयारी अभ्यास गरिएको छ ।

मलंगवा नगरपालिका–९, पुरानो बसपार्क नजिकको जनसागर पोखरीमा नेपाली सेनाको सर्लाहीस्थित कालीध्वज गण पाँचकुमारी ब्यारेकको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा विपद् पूर्व तयारी अभ्यास “अभ्यास मनसुन–५” गरेका हुन् । तीनवटा सुरक्षा निकाय मिलेर बाढी तथा डुबानको समयमा गरिने उद्धारको अभ्यास गरिएको कालीध्वज गणका गणपति एवं प्रमुख सेनानी (कर्णेल) गोबिन्द बिष्टले उज्यालो अभियानसँग बताए ।

विद्यार्थी र गाउँलेलाई समेत उपस्थित गराएर विपद् पूर्वतयारी अभ्यास देखाइएको हो । मनसुन सुरु भइसकेकाले यो बेला बाढी आउँदा तथा डुबानमा पर्दा सुरक्षा निकायले के–कसरी उद्धार गर्छन् ? भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित विपद् पूर्व तयारी अभ्यास गरिएको प्रमुख सेनानी विष्टले बताए ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले विपद्जन्य घटना निम्तन नदिन सबै पक्ष उत्तिकै चनाखो र जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले वर्षायाममा बाँध भत्किएको ठाउँमा बाँध कस्ने, डुबानमा परेकालाई उद्धार गर्ने, डुबान तथा बाढी पीडितलाई राहत वितरण गर्नेलगायत कामका लागि सुरक्षा निकाय तयार रहेको र विपद्को क्षेत्रमा काम गर्ने निकायलाई समेत ‘अलर्ट’ भएर बस्न भनिएको बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले यो वर्ष तुलनात्मक रुपमा बढी वर्षा हुने प्रक्षेपण गरिएकाले नदी तटिय क्षेत्र तथा डुबानमा पर्ने बस्तीका वासिन्दालाई सजग रहन आग्रह गरेका छन् ।

सर्लाहीमा केही दिनअघि नेपाली सेनाको मध्यपूर्वी पृतनाले यसैगरी बागमती नदीस्थित नुनथरमा मधेश प्रदेशस्तरीय विपद् पूर्व तयारी अभ्यास गरेको थियो ।