लालबन्दी, २३ चैत – सत्तारुढ नेकपा एमाले लालबन्दीको दोस्रो नगर अधिवेशन आज हुँदै छ ।
लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत भवनमा नगर अधिवेशन हुन लागेको नगर कमिटी अध्यक्ष सरोजबाबु न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अधिवेशनले नयाँ नगर कमिटी समेत चयन गर्ने छ ।
एमाले लालबन्दीको आगामी नेतृत्व गर्न हाल दुई जना आकांक्षी देखिएका छन् । लालबन्दी ६ का पूर्व वडाध्यक्ष उज्वलकुमार कार्की र लालबन्दी १७ रानिगन्जका पूर्व वडा सदस्य प्रेमप्रसाद आचार्य (उमेश) अध्यक्षको आकांक्षी हुन् ।
अधिवेशनमा सकेसम्म सहमतीमै नेतृत्व चयनको प्रयास हुने, यदि सहमती हुन नसके निर्वाचन प्रक्रियाबाट नेतृत्व टुंग्याउने नेताहरुले बताएका छन् । उद्घाटन सत्रपश्चात नयाँ नेतृत्व चुन्न आजै बन्दसत्र सुरु गर्ने तयारी रहेको नगर कमिटी अध्यक्ष न्यौपानेले उज्यालो अभियानसँग बताए ।
नगर अधिवेशनका लागि हालको नगर कमिटीमा रहेका पदाधिकारी तथा सदस्य गरी ५१ जनासहित १७ वटै वडाबाट छानिएर आएका कूल ३०९ जना प्रतिनिधिले मतदान गर्न पाउने एमाले लालबन्दीले जनाएको छ ।
नगर अधिवेशनको एमाले जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य हरिप्रसाद उप्रेतीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।