logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाही क्याम्पसको स्ववियु सभापतिमा यादव निर्वाचित


  • उज्यालो अभियान

सर्लाही क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित स्ववियु सभापति सुजितकुमार यादव ।

मलंगवा, ०६ चैत – सर्लाही सदरमुकाम मलङ्गवास्थित सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा सुजितकुमार यादव निर्वाचित भएका छन् ।

महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियन, जनमत निकट विद्यार्थी सङ्गठन र सुजितकुमार यादव समूहको संयुक्त विद्यार्थी प्यानलबाट यादव ६२४ मत प्राप्त गरी स्ववियु सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी मञ्च, लोकतान्त्रिक विद्यार्थी सङ्गठन र समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट संयुक्त विद्यार्थी सङ्गठनबाट उम्मेदवार रहेका अनेरास्ववियुका कृष्णकुमार यादवले ३९५ मत प्राप्त गरेका छन् ।

स्ववियु सभापतिमा निर्वाचित सुजितकुमार यादव यसअघिको स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसङ्घबाट सभापतिको उम्मेदवार रहेका थिए । यो पटक नेविसङ्घबाट पार्टीको संस्थापन पक्षका धीरज दाहा प्रतिस्पर्धामा रहेका थिए ।
दाहाले १७६ मत मात्रै प्राप्त गरे ।

स्ववियु सभापतिमा निर्वाचित सुजितकुमारलाई नेपाली कांग्रेसको संस्थापत इतर (लक्ष्मण राय) पक्षले समर्थन जनाएको थियो ।

यस्तै जनता समाजवादी पार्टी (जसपा नेपाल) का मधेश प्रदेशसभा सदस्य सन्जय यादवको समूहले समेत सुजितकुमारलाई नै समर्थन जनाएको थियो । प्रदेश सांसद यादव बुधबार बिजयी र्यालीमा समेत देखिन्थे ।

यसैगरी सर्लाही क्याम्पसको स्ववियु सचिवमा सुजितकुमार यादव समूहबाटै ६०० मतसहित रौशनकुमार यादव र कोषाध्यक्षमा सुजितकै समूहबाट नितुकुमारी ५८० मतसहित बिजयी भएका छन् ।

सर्लाही क्याम्पसमा मङ्गलबार भएको स्ववियु निर्वाचनमा तीन हजार २४९ मतदातामध्ये आधा भन्दा पनि कम एक हजार ३६७ जना विद्यार्थीले मात्रै मतदान गरेका थिए ।

मङ्गलबार राति विवाद भएपछि केही घण्टा रोकिएको मतगणना बुधबार दिउँसो सम्पन्न गरिएको निर्वाचन समिति संयोजक कृपानाथ झाले उज्यालो अभियानसँग बताए ।