logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मानवसेवा आश्रमको सेवा असाध्य पवित्र : पूर्व उपप्रधानमन्त्री श्रेष्ठ


  • उज्यालो अभियान

हरिवन, २५ फागुन – पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवसेवा आश्रमको सेवा असाध्य पवित्र र महान रहेको भन्दै प्रङ्शसा गरेका छन् ।

मानवसेवा आश्रम हरिवन, सर्लाही शाखाको भवननिर्माण सहयोगार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञलाई आज सम्वोधन गर्दैै उनले यस्तो कुरा बताएका हुन् । “एकछिन समाजसेवा गरे झैँ गरेर फोटो खिचाउनु अर्कै कुरा हो तर मानवसेवा आश्रमले जस्तो रातदिन सेवा गर्न त ठूलो सङ्कल्प र हृदय चाहिन्छ,” श्रेष्ठले भने, “कतै १२ वर्ष जङ्गलमा बसेका, कतै १० वर्ष ओढारमा बसेका, अनि मानसिक रोगीभयो भन्दै आफ्नै घरबाट निकालेपछि सडकमा बसेकाको निरन्तर पालनपोषण गर्नु चानचुने कुरा होईन् ।”

सहयोगापेक्षी मानवको सेवा गरेर मानवसेवा आश्रमले सबैभन्दा ठूलो धर्म र पुण्य आर्जन गरिरहेको पूर्व मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । परिवारकै सदस्यमा कोहीकसैलाई नियमित दिसापिसाब गराउनुु पर्दा, खाना खुवाइदिनुपर्दा वा सम्पूर्ण प्रकारको सहयोग गर्नुपर्ने व्यक्तिको स्याहारसुसार गर्नुपर्दा कताकता पीडा परेको, दुःख परेको जस्तो महसुस हुने गरेकोमा मानव जातिको सदस्य भएकै नाताले सडक मानवको उद्धार, पालनपोषण र ओषधोपचारका लागि मानवसेवा आश्रमका स्वयंसेवकले गरेको सेवा सराहनिय रहेको उनको भनाई छ ।

श्रेष्ठले पैसा र सुविधाका लागि प्रकृतिलाई ध्वस्त पार्ने अभियान चलिरहेको भन्दै यसले पृथ्वी र मानव जाति नै ध्वस्त हुने खतरा रहेको बताए । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व मन्त्री श्रेष्ठले मानवसेवा आश्रमको लक्ष्य २०८२ सम्म नेपाललाई सडयोगापेक्षी सडक आश्रीत मानवमुक्त घोषणा गर्ने रहेकाले यसमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

महायज्ञमा केहीबेर भक्तजनसँगै छमछम नाचेका श्रेष्ठले कैलाशपुरीमा पुुगेर मानवसेवा आश्रममा आश्रय दिएर राखिएकाहरुलाई आफ्नो तर्फबाट एक छाक भोजन समेत गराएका छन् । हरिवन नगरपालिका–९, स्थित मानवसेवा आश्रम सर्लाहीको निर्माणाधीन भवनमा आवश्यक पर्ने रकम जुटाउने उद्देश्यले मानवसेवा आश्रमले फागुन २२ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गरिरहेको छ ।

महायज्ञमा आज हरिवन नगरपालिका वडा नं. ९ ले १० लाख २२ हजार ५०५ रुपियाँ, हरिपुर नगरपालिका–१, हजारबिघा निवासी सरस्वती मिश्र वाग्लेले ५१ हजार १११ रुपियाँ र अन्य मनकारी व्यक्तिले दान प्रदान गरेका मानवसेवा आश्रमले जनाएको छ । मानवसेवा आश्रमको अधुरो भवनको निर्माण पूरा गराउन करिव ११ करोड रुपियाँ आवश्यक पर्नेमध्ये हरिवन नगरपालिकाले महायज्ञ उद्घाटनकै अवसरमा फागुन २२ गते ५६ लाख २१ हजार रुपियाँ प्रदान गरिसकेको छ ।

भागवत भास्कर कमलनयन गौतमले कथावाचन गरिरहेका महायज्ञस्थलमा बिहान सँधै योग अभ्यास र विद्यार्थीलाई उत्प्रेरणामूलक कक्षा संचालन भइरहेको छ ।

महायज्ञ फागुन २९ गतेसम्म संचालन हुने छ ।