logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाही प्रवेश गर्यो माओवादीको जागरण अभियान, प्रचण्डसहितका नेता आइपुगे


  • उज्यालो अभियान

संग्रामपुर, २२ फागुन – नेकपा माओवादी केन्द्रले झापाबाट सुरु भएको तराई–मधेश जागरण अभियान आज साँझ सर्लाही आइपुुगेको छ ।

अभियान लिएर अघि बढेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरु भर्खरै सर्लाही प्रवेश गरेका हुन् । महोत्तरीको सम्सीमा सभा सकेर पार्टीका शीर्ष नेताहरु सर्लाही प्रवेश गर्नुभएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले उज्यालो अभियानलाई जानकारी दिए ।

प्रचण्डसहितका नेताहरुलाई जिल्लास्थित माओवादीका नेता कार्यकर्ताले हुलाकी सडक अन्तर्गत पर्सा गाउँपालिकाको शितलपुरस्थित बाँके खोलामै पुुगेर स्वागत गरेका छन् । प्रचण्डसहितका नेताहरु आज राति अबेरसम्म पर्सा र ब्रम्हपुरीमा विभिन्न कार्यक्रम सरिक हुने छन् ।

राति पर्सा गाउँपालिकाकै एक कार्यकर्ताको घरमा बास बस्ने प्रचण्डसहितका नेताहरु भोली चन्द्रनगर, मलंगवा, कौडेना, गोडैता, रामनगर, बलरा, धनकौलगायतका कार्यक्रममा सरिक भई साँझ रौतहट प्रस्थान गर्ने माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।

जनतासँग माओवादी अभियान भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरु अहिले मधेशको हुलाकी सडक हुँदै अभियान लिएर अघि बढिरहेका छन् ।

माओवादीले भोली मध्यान्ह सदरमुकाम मलंगवास्थित कभर्ड हलमा विशाल खबरदारी सभा आयोजना गरेको नेता प्रल्हाद बुुढाथोकीले बताए ।