logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

साँढे ५ करोड खर्चिएर व्यावसायिक भवन, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन


  • उज्यालो अभियान

लालबन्दी, १२ फागुन केन्द्रीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सर्लाहीको लालबन्दीमा नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवनको आज उद्घाटन गरेका छन् ।

सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामले लालबन्दी नगरपालिका–७, स्थित साझा संस्थाको जग्गामा निर्माण गरेको व्यावसायिक भवनको उपप्रधानमन्त्री सिंहले आज औपचारिकरुपमा उद्घाटन गरेका हुन् । मन्त्री सिंहले स्थानीयस्तरमा व्यापार, व्यवसाय गर्न इच्छुक युवालाई नवनिर्मित व्यवसायिक भवन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण कार्यालयका महानिर्देशक मचाकाजी महर्जनले लालबन्दी नगरपालिका कार्यालयलाई भवनको उचित संरक्षण र व्यावसायिक प्रयोजनकै लागि प्रयोग गर्न अनुरोध गरे । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले भवनलाई तत्कालै व्यावसायिक प्रयोजनमा लगाउन पहल थाल्ने बताएका छन् ।

मेयर अधिकारी र लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिनले लालबन्दी नगरको विकास र नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले मुलुकमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिकामा यस्तै प्रकारको व्यावसायिक भवन निर्माणका लागि पहल गरिदिन उपप्रधानमन्त्री सिंहसँग माग राखेका छन् ।

तीन तले व्यावसायिक भवन निर्माणका लागि पाँच करोड ४१ लाख ५२ हजार ९७५ रुपियाँ ४८ पैसा खर्च भएको छ । बहुउद्देश्यीय व्यावसायिक भवनमा भुइँ तलामा १७ वटा व्यापारिक सटर, पहिलो तलामा तीनवटा च्याम्बर कोठा, तेस्रो तलामा एउटा च्याम्बर कोठा र हल रहेका सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका इन्जिनियर मणिकान्त साहले उज्यालो अभियानसँग बताए ।