logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

देशले राजनीतिक स्थायित्व पाएको छ : उपप्रधानमन्त्री सिंह


  • उज्यालो अभियान

हरिपुर, १२ फागुन – उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि देशमा राजनीतिक स्थिरता कायम भएको बताएका छन् ।

सर्लाहीको हरिपुरमा आज नेपाल मुस्लिम सङ्घ मधेश प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले चाँडोचाँडो सरकार फेरिनेक्रम भङ्ग भएको उल्लेख गरेका हुन् । देशमा राजनीतिक स्थिरता र स्थायित्व नभएसम्म विकास सम्भव नहुने देखेपछि दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको सिंहको भनाई छ ।

उनले संविधानलाई संस्थागत गर्न आवश्यक कानून निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुद बनाउन आवश्यक रहेको बताए । नेपाली कांग्रेसका पूर्व केन्द्रीय उपसभापति समेत रहेका मन्त्री सिंहले आम नेपालीको जीवन र जीविकोपार्जन सहजहोस् भन्ने कांग्रेसको मुख्य चाहना रहेको बताए ।

उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले मुस्लिम समुदायमा पुरुषको तुलनामा महिलामा शिक्षाको अवस्था निकै कमजोर रहेकाले महिलालाई पनि शिक्षामा पहुँच बढाउने विषयमा गम्भीर बन्न उक्त समुदायका अगुवासँग आग्रह गरेका छन् । उनले नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल मुस्लिम सङ्घले बेलैमा सङ्गठनको अधिवेशन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको बताए ।

नेपाल मुस्लिम सङ्घको मधेश प्रदेशस्तरीय प्रथम अधिवेशनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अब्दुल सतार, जाबेदा खातुन, नैनसिंह महर, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव, नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति महम्मद अताउल, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायतले सम्वोधन गरे ।

अधिवेशन नयाँ नेतृत्व चयन गरेर टुुङ्गिने नेपाल मुस्लिम सङ्घ मधेश प्रदेश समितिका सभापति शेष साहदुल्लाहले जानकारी दिएका छन् ।