दाहिने खट्टा काटिएपछि उपचाररत् गोलु ।
बलरा, १० फागुन – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकाका एक युवकको दाहिने खट्टा काट्नु परेको छ ।
गत बुधबार सीमापारी भारतीय बजारबाट घरायसी प्रयोजनका लागि मोटरसाइकलमा राखेर समान लिएर आउनेक्रममा बलरा नगरपालिका–३, निवासी महेन्द्र रायका छोरा १८ वर्षीय गोलु राय घाइते भएका थिए । उनको अहिले बीएण्डबी अस्पताल काठमाडौंमा उपचार जारी छ ।
गोलुको दाहिने खुुट्टामा हड्डी फुटेर रगत जमेपछि खुुट्टा नै काट्नुपरेको हो । बलराका स्थानीय तथा गोलुका आफन्तले उहाँमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ज्यादतीपूर्ण हिसाबले कुटपीट गरेर यस्तो अवस्था आएको आरोप लगाएका छन् ।
एसएसबीले गोलुलाई घरमा पूजाका लागि समान किनेर फर्किदै गर्दा कुटपीट गरेर गम्भीर घाइते बनाएको बताएका छन् । यो घटना भारतसँगै सीमा टाँसिएको बलरा नगरपालिकास्थित लक्ष्मीपुर नाकाको हो । गोलु खेतको बाटो भएर भारतबाट समान किनेर फर्किदै गरेका थिए ।
यता, एसएसबीले भने गोलु मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको दावी गरेको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले स्थानीय वासिन्दा र एसएसबीको कुरा बाँझिएको बताए ।
एसएसबीले गोलुुलाई खानतलासी लिन खोज्दा उनी भागेको र लखेट्नेक्रममा तीव्र गतिमा मोटरसाइकल दौडाउँदा दुर्घटनामा परेको भनी आफूहरुलाई जानकारी गराएको डीएसपी राईले शनिबार साँझ उज्यालो अभियानसँग बताएका छन् ।
घाइते युवकलाई वीरगन्ज हुँदै काठमाडौंतर्फ लगेपछि प्रहरीलाई घटनाबारे जानकारी भएको र प्रारम्भिक अनुसन्धानमा घटनालाई दुर्घटनाकै रुपमा लिएको डीएसपी राईको भनाई छ । स्थानीयले भने अनुसार सीमाक्षेत्रमा एसएसबीको ज्यादती बढेको विषयमा सीमापारीका भारतीय सुरक्षा अधिकारीसँग छलफल गरिने सर्लाहीका सुरक्षा अधिकारीले बताएका छन् ।