logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चिताईनमा धर्मशाला भवनको उद्घाटन


  • उज्यालो अभियान

धर्मशालाको भवन उद्घाटनमा प्रदेश सभा सदस्य लुंगेली, संविधान सभा सदस्य चौधरीलगायत । (तस्बीर : उज्यालो अभियान)

हरिपुर, १० फागुन – प्राचिन धार्मिक एवं पर्यटकीयस्थलको रुपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताईन परिसरमा धर्मशाला निर्माण गरिएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनस्थित मन्दिर परिसरमा दुई तले पक्की धर्मशाला भवन निर्माण गरिएको हो । भवनको आज दिउँसो सर्लाही क्षेत्र नं. १ (ख) का मधेश प्रदेशसभा सदस्य बेची लुंगेली र संविधान सभा सदस्य रामचन्द्र चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

धर्मशाला भवनको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका पार्टी प्रतिनिधि, सामाजिक अगुवा र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो । प्रदेशसभा सदस्य लुंगेलीको संसदीय विकास कोष, प्रदेश सरकारको पर्यटन मन्त्रालय र वडाको समेत गरी करिव ४० लाख रुपैयाँ खर्चिएर धर्मशाला भवन तयार पारिएको लक्ष्मीनाथ चिताईन महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए ।

नवनिर्मित धर्मशाला भवन । (तस्बीर : उज्यालो अभियान)

प्रदेशसभा सदस्य लुंगेलीको विशेष पहलमा निर्माण गरिएको दुई तले धर्मशाला भवनमा चारवटा कोठा र एउटा बैठक हल रहेको छ । नवनिर्मित धर्मशाला भवनलाई आगामी दिनमा परपाहुना तथा साधुसन्त आउँदा बास बस्न र गाउँघरमा हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिने लक्ष्मीनाथ चिताईन महादेव विकास समितिले जनाएको छ ।

जिल्लाकै ऐतिहासिकस्थलको रुपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताईनमा भर्खरै जीर्णोद्धारको काम समेत गरिएको थियो । चिताईन मन्दिरमा शिवरात्रिको दिन चर्मरोग निको हुने र मनोकाक्षा पूरा हुने विश्वासका साथ भान्टाको भार र धानको मट्का (मौर) चढाउनेको अत्यधिक भीड लाग्ने गरेको छ ।

यो वर्ष पनि फागुन १४ गतेदेखि चिताईनमा ऐतिहासिक चिताईन मेला लगाउने तयारी भइरहेको स्थानीय चेतनारायण धामीले जानकारी दिएका छन् ।