logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमती पुलको मर्मत सकियो, पुलबाटै गाडी चल्न थाले


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बागमती, ०८ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न गरी पुलबाटै सवारी साधन संचालन गर्न थालिएको छ ।

पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान नै उप्किएको थियो । क्षति पुुगेको भागमा मर्मतको काम सकेर पुलबाट गत मंगलबार साँझबाटै नियमित सवारी साधन संचालन हुन थालेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिए । पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन संचालनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो ।

पुल संचालन भएसँगै अब डाइभर्सन भत्काएर त्यहाँ हालिएका ह्यूम पाइप निकाल्ने तयारी भइरहेको इन्जिनियर तोरसले बताए । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्कालै सवारी साधन सञ्चालन गर्न मिल्ने भएको प्राविधिकले बताएका छन् ।

सर्लाहीमा ५५ वर्षअघि नै निर्माण गरिएका बागमतीसहित अन्य खोलाको पुल जिर्ण बनेको लामो भइसकेको छ । पुलमा वर्षेनि खाल्डाखुल्डी परेको ठाउँमा टाल्टुल पारेर सवारी साधन सञ्चालन हुँदै आएको छ ।

अब पूर्व पश्चिम राजमार्ग विस्तारकाक्रममा यि पुलसँगै अर्को समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको छ । पूर्व पश्चिम राजमार्गम हरिवनस्थित चापिनी खोलामा राजमार्ग विस्तारैक्रममा समानान्तर पुल बनाउने काम सुरु भइसकेको छ ।