बयलवास, ०७ फागुन – जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सवारी चालक तथा सह–चालकको आज निःशुल्क आँखा परीक्षण गराएको छ ।
ईश्वरपुर नगरपालिका, आँखा उपचार केन्द्र ईश्वरपुर र रेडक्रस उपशाखा ईश्वरपुरसँग समन्वय गरी ईश्वरपुर ९, गौचरणमा रहेको आँखा उपचार केन्द्रमा १५३ जनाको आँखा परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिए । १५३ जनामध्ये मोटरसाइकल, टेम्पु, बसलगायत अन्य सवारीका चालक तथा सह–चालक र केही स्थानीय समेत रहेका ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।
सवारी चालकमा आँखा र रक्तचापको समस्या रहे÷नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको ट्राफिक प्रहरीका इन्स्पेक्टर घिमिरेले बताए । शिविरमा आँखा परीक्षण गरेकामध्ये १०० जनालाई औषधि र ४३ जनालाई चश्मा निःशुल्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले नगरपालिकाले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी सञ्चालन गरिरहेको आँखा उपचार केन्द्रमा वार्षिक कार्यक्रम अन्तर्गत दोस्रो पटक सवारी चालक र सह–चालकको समेत आँखा परीक्षण गराउन पाउँदा खुसी व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख आचार्य, ट्राफिक प्रहरी निरीक्षक घिमिरे, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशी, ईश्वरपुर ९, १० र ११ का वडाध्यक्ष क्रमश ः नन्दलाल चौधरी, रासनारायण चौधरी र रामपुकार चौधरीलगायतको आतिथ्यता रहेको थियो ।