logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जंगली हात्तीले वृद्धाको घर भत्कायो


  • उज्यालो अभियान

ईश्वरपुर १३ मा हात्तीले भत्काएको घर । (तस्बीर : उज्यालो अभियान)

गौरीशंकर, ०७ फागुन – जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा एक विपन्न परिवारको घर भत्काइदिएको छ ।

हात्तीले ८६ वर्षीया धनमाया तामाङको कच्ची घर भत्काइदिएको स्थानीय वीरबहादुर पाख्रिनले जानकारी दिए । आज बिहान ३ बजेतिर बस्तीमा आइपुुगेको हात्तीले तामाङको घर भत्काएर भित्र राखिएको धान, चामललगायतका अन्न खाइदिएको स्थानीयले बताएका छन् ।

पाँचवटा हात्तीले खाना पकाउने कुकरसहित अन्य भाँडाकुुँडा समेत कुल्चिएर काम नलाग्ने बनाइदिएको स्थानीय वासिन्दा पाख्रिनले बताए । हात्तीको हुल आएर घरमा आक्रमण गर्न थालेपछि घरभित्र सुतिरहेका मानिसले भागेर ज्यान जोगाएका छन् ।

हिँड्डुल गर्न नसक्ने ८६ वर्षीया धनमायालाई नातिनीले बोकेर सुरक्षित स्थानमा लगेकाले मानवीय क्षति टरेको गाउँलेको भनाई छ । अचानक गाउँमा देखा परेका जङ्गली हात्ती गाउँलेले होहल्ला गरेपछि उखु खेतभित्र छिरेका छन् ।

केही सातादेखि नजिकै पर्ने महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्तीको समूह बाँके खोला हुँदै सर्लाहीतर्फ छिरेको हुनसक्ने स्थानीयको भनाई छ ।

सागरनाथ वन विकास परियोजनाको जङ्गल नजिक पर्ने महोत्तरीको गौशाला र सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा वर्षेनि यो याममा जङ्गली हात्ती आएर स्थानीयको घर तथा बालीनालीमा क्षति पुु¥याउने गरेको छ ।