logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवन र कविलासीमा उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइयो


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन, ०५ फागुन – सर्लाहीको हरिवन र कविलासी नगरपालिकामा उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएसाँझ ७१ जना उपसचिवको सरुवा निकाल्दा हरिवन र कविलासीमा उपसचिव स्तरका कर्मचारी पठाइएको हो । हरिवनमा उपसचिव हेमराज फूँयाल र कविलासीमा उपसचिव तिर्थराज पौडेललाई सरुवा गरेर पठाइएको छ ।

मन्त्रालयले हरिवनमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि लेखा प्रमुख प्रतिक कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । हरिवनमा सरुवा गरिएका उपसचिव फूँयाल लालबन्दीका स्थानीयवासी हुन् ।

कविलासीमा अहिले आयुर्वेद शाखाका स्वास्थ्यकर्मी राजकिशोर महतोले प्रमुख प्रशासकीय अधिकृत भएर चलाइरहेका छन् । मन्त्रालयले केही दिनअघि सर्लाहीको तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेको थियो ।

स्वास्थ्य तथा शिक्षातर्फका कर्मचारीलाई निमित्त दिएर काम गरिँदै आएको धनकौल, ब्रम्हपुरी र विष्णु गाउँपालिकामा भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन् । सर्लाहीको बागमती नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन नै रहेको छ ।

नगरपालिकामा उपसचिव स्तरको र गाउँपालिकामा शाखा अधिकृत स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने गरिएको छ । तर, मधेशका कतिपय पालिकामा आफू अनुकुलको काम गराउन निकटका जुनसुकै शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराउने परिपाटी छ ।

प्रमुख प्रशासकीय अधिकृतको खटनपटनमा मन्त्रालयमै समेत ठूलो आर्थिक चलखेल हुने गरेको चर्चा हुने गरेको छ ।