logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रेडक्रस सर्लाहीको निर्वाचन आज, बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदान


  • उज्यालो अभियान

मलंगवा, ०३ फागुन – नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुुँदै छ ।

४४ औँ जिल्ला सभामा नयाँ नेतृत्व चयनका लागि सहमती जुट्न नसकेपछि आज मतदान गरेर टुंग्याउन लागिएको हो । रेडक्रसको तीन जना पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । महिला उपाध्यक्षमा भवानी कोइराला, मन्त्रीमा शशीभुुषण सिंह (राजन) र उप–कोषाध्यक्षमा मधु राय सर्वसम्मत चयन भएका हुन् । बाँकी पदाधिकारी र सदस्य चुन्न आज मतदान हुन लागेको हो ।

मतदान बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मलंगवास्थित जिल्ला रेडक्रसको कार्यालयमा हुने तय भएको छ । रेडक्रस सर्लाहीको सभापतिका लागि निवर्तमान सभापति नागेन्द्रप्रसाद चौधरी र पूर्व गाविस सचिव समेत रहेका हरिकान्तलाल कर्णको उम्मेदवारी परेको छ ।

त्यस्तै उपसभापतिमा विश्वनाथ ठाकुर र सेख सहदुल्लाहले उम्मेदवारी दिएका छन् । त्यसैगरी कोषाध्यक्षमा शम्भु कुशवाहा र उमेश मिश्र तथा सहमन्त्रीमा मुकेश मिश्र र ऋषी शर्माको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

७ जना खुल्ला सदस्यका लागि १३ जना र ३ जना महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ । मतदानमा रेडक्रस सर्लाही अन्तर्गत जिल्लाका २५ वटा उपशाखाबाट ५ जनाको दरले छनौट भएर आएका १५० जना प्रतिनिधि, जिल्ला शाखाका निवर्तमान कार्य समितिका १८ जना र मनोनित ५ जना सदस्य समेत गरी १७३ जना मतदाता रहेका छन् ।

अधिवेशनको हिजो जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यता र विभिन्न पालिकाका प्रमुख तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

रेडक्रसको निर्वाचन गराउन रेडक्रस महोत्तरीका जिल्ला सभापति दीपक मिश्रलाई जिम्मेवारी तोकेर पठाइएको छ ।