logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाँके जंगल बस दुर्घटना : घाइतेको उपचार चल्दै, चालक प्रहरीको नियन्त्रणमा


  • उज्यालो अभियान

बस दुर्घटनाका घाइतेको लालबन्दीमा उचपार चल्दै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ०२ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँकेमा गएसाँझ भएको बस दुर्घटनाका घाइतेको उपचार जारी छ ।

लघुवित्त वित्तीय संस्थाविरुद्ध बर्दीबासमा आयोजित प्रदर्शन कार्यक्रममा सहभागी भई बाराको पथलैयातर्फ फर्किदै गरेका महिला सवार ना ७ ख ३६४३ नम्वरको बस बाँके जंगलस्थित घारिबथान जाने चोकमा गएसाँझ ७ बजेतिर अनियन्त्रित भएर पल्टिएको थियो । बसमा सवार ३५ जना महिलामध्ये १५ जना घाइते छन् ।

घाइते सबैलाई तत्कालै उपचारका लागि लालबन्दीस्थित मोडेल र म्याक्स अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले घाइते १५ जनाकै उपचार चलिरहेको जानकारी दिए । उनका अनुसार सबै घाइतेको अवस्था सामान्य नै छ । दुर्घटनामा परेको बसमा चालक र बसधनीबाहेक अरु ३५ जना महिला सवार थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण बस दुर्घटना भएको निष्कर्ष निकालेको छ । दुर्घटनामा परेको बस राति नै घटनास्थलबाट उठाएर प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए । उनका अनुसार दुर्घटनापछि फरार बसका चालक राति आफै प्रहरीमा उपस्थित भइसकेका छन् ।