हरिपुर, ३० माघ – सर्लाहीको हरिपुर नगरपालिका २ हात्तीसार खेल मैदानमा आयोजित सातौं नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आज समापन गरिएको छ ।
बिजेता विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सोमबारदेखि सुरु भएको प्रतियोगिता आज सकिएको हो । प्रतियोगिता अन्तर्गत विभिन्न खेल बिधामा गराइएको प्रतिस्पर्धाबाट कूल ३० पदकसहित महावीर जनता मावि हरिपुर २ पहिलो, २५ पदकसहित जनता मावि हरिपुर ४ हरैया दोस्रो र १४ पदकसहित सार्वजनिक माध्यमिक विद्यालय हरिपुर ६ लक्ष्मीपुरकोद्राह तेस्रो भएका छन् ।
ती विद्यालयलाई नगर उपप्रमुख निलदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, शिक्षा अधिकृत नागेश्वर राय, लेखा अधिकृत रन्जित राय, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगिता समापन समारोहको संचालन शिक्षक बाबुराम घलान र अवकाश प्राप्त शिक्षक चेतनारायण धामीले संयुक्तरुपमा गरेका थिए । राष्ट्रपति रनिङशिल्डमा नगरभित्रका ६ सामुदायिक र एउटा संस्थागत गरी माध्यमिक तहका ७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।