logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मनोकामनाले बीमाको रकम प्रदान गर्यो


  • उज्यालो अभियान

हरिवन, २८ माघ – सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्येश्यीय सहकारी संस्थाले आज आफ्ना मृतक सदस्यका परिवारलाई बीमा रकम उपलब्ध गराएको छ ।

आफ्नो शेयर सदस्य बागमती नगरपालिका ४ निवासी ३८ बर्षिय मानबहादुर प्रधानको दुर्घटनाबाट मृत्यु भएकाले सदस्य दुर्घटना बीमा बापतको नगद एक लाख रुपैयाँ प्रदान गरिएको हो । मृतकका श्रीमति भिष्मा प्रधानलाई चेक हस्तान्तरण गर्दै संस्थाका उपाध्यक्ष कृष्णओम पोतेले दुःखको समयमा शेयर सदस्यहरुलाई अलिकति भएपनि राहत सहयोग पुगोस् भन्ने उद्देश्यका साथ संस्थाले शेयर सदस्यहरुको दुर्घटना बीमा गरिदिएको बताए ।

उपाध्यक्ष पोतेले ५० कित्ता अर्थात ५ हजार रुपैयाँमाथिका शेयर सदस्यहरुलाई संस्थाले दुर्घटना बीमा गराएको उल्लेख गरेका छन् । मृतक प्रधान गत भदौ ९ गते मोटरसाईकल चलाएर बिरगंजबाट सर्लाही स्थित आफ्नो घरतर्फ आउदै गर्दा बारामा बिपरीत दिशाबाट आएको कारले ठक्कर दिएको थियो ।

त्यस्तै संस्थाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्थानिय स्तरमा रहेका अनाथालय, बृद्धाश्रम, मानवसेवा आश्रम लगायत धर्मशालामा आश्रय लिएर बसेकाहरुलाई आवश्यक खाद्यान्न लगायत आवश्यक सामाग्री सहयोग उपलब्ध गराउने र यसअघि स्थानिय एक क्याम्पस र एक विद्यालयलाई रकम प्रदान गरिसकिएको उपाध्यक्ष पोतेले जानकारी दिए । संस्थाले बहुउद्देश्यीय कार्य अन्तर्गत बचत तथा ऋणको अलवा सुलभ र गुणस्तरिय रुपमा विद्यालय संचालन, सुलभ मुल्यमा डिपो मार्फत एलपी ग्याँस तथा रसायनिक मलखाद विक्री वितरण गर्दै आएको छ ।

सर्लाही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले हरिवन नगरपालिका वडा नंं. १ भोक्टिनीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको छ । एक विगाह ५ धुर जग्गा खरिद गरेर सुविधा सम्पन्न १५ कोठे पक्की भवनबाट कक्षा ६ सम्मको अध्यापन गरिएको संस्थाका उपाध्यक्ष पोतेले जानकारी दिए ।

संस्थाले विद्यालय संचालन गरेको भोक्टिनी क्षेत्र हरिवन नगरपालिकाको पिछिडिएको र दुर्गम क्षेत्र हो र त्यहाँ विपन्न नागरिकको संख्या बढी रहेको बताईएको छ ।