बरहथवास्थित सत्येन्द्र राम चमारको घर ।
बरहथवा, २८ माघ – अन्तरजातीय विवाह बन्धनमा बाँधिएका सर्लाहीको बरहथवा निवासी सत्येन्द्र राम चमार र नेहा रौनियार आज बरहथवास्थित घर फर्किएका छन् ।
सत्येन्द्र नेहालाई लिएर बुवा इन्दल र आमा गीतादेवीसँगै आज बरहथवा १० कटानीस्थित घर फर्किएका हुन् । चमार परिवारको घर केही समयदेखि सुनसान थियो । सत्येन्द्रले अन्तरजातिय विवाह गरेको र सो जोडीलाई छुटाउन सरकारका गृहमन्त्री रमेश लेखक र प्रहरीका अधिकारी नै लागेको भन्ने चर्चा चलिरहेकै छ ।
सोहीक्रममा सत्येन्द्र र नेहा बुवाआमासँगै काठमाडौंबाट गाउँ आइपुुगेका हुन् । उनीहरुलाई आज दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका डिएसपी रामरिझन यादवले घरमै पुुगेर भेट गरेका हुन् ।
सुरक्षा अधिकारीले सत्येन्द्रको परिवारलाई ढुक्कसँग बसोवास गर्न आग्रह गर्दै फर्किएका छन् । एक प्रहरी अधिकारीले उक्त परिवारलाई आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको उल्लेख गरेका छन् ।
भेटमा सत्येन्द्रको परिवारले अदालतमा अहिले पनि मुद्दा चलिरहेकाले यस विषयमा अनावश्यक प्रचारप्रसार नगरीदिन र स्वतन्त्रपूर्वक जिउने वातावरण कायम गरिदिन आफूहरुसँग आग्रह गरेका ती सुरक्षा अधिकारीको भनाई रहेको छ ।