बागमती, २६ माघ – जोखिमपूर्ण बनेको सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल भोलीबाट मात्रै मर्मत सुरु गरिने भएको छ ।
आजैबाट पुल मर्मतको काम सुरु गर्ने तयारी भएपनि डाइभर्सनतर्फबाट गाडी पास गराउँदा बिजुलीको नांगो तारमा छुने जोखिम भएपछि भोलीबाट मात्रै काम सूरु हुने भएको हो । सर्लाहीतर्फ ट्राफिक पोष्टबाट दक्षिणतर्फ सवारी साधन मोड्दा बिजुलीको नांगो तारमा भेट्ने जोखिम देखिएपछि आज पनि सवारी साधनलाई पुलबाट हिँड्न दिइएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिए ।
इन्जिनियर तोरसका अनुसार नेपाल विद्युुत् प्राधिकरणसँग समन्वय गरी भोली बिहानभरमा तारको व्यवस्थापन गरेर डाइभर्सनबाट सवारी साधन सञ्चालन गरी पुल पूर्णरुपमा बन्द गरिने छ । सडक डिभिजन कार्यालयले आज मध्यान्ह १२ बजेदेखि नै पुलबाट सवारी आवागमन बन्द हुने भनी हिजो नै सूचना प्रकाशित गरेको थियो ।
५५ वर्ष पुरानो बागमती खोलाको पुलमा ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुगेर पुलमा गरिएको ढलान नै फुुटेपछि तत्काल मर्मतको काम अघि बढाउन लागिएको हो । पुल मर्मतका लागि भन्दै करिव एक साता लगाएर पुलदेखि दक्षिणतर्फ सवारी साधन पास गराउन डाइभर्सन तयार पारिसकिएको छ ।
बढीमा अबको पाँच दिनभित्रै पुलको मर्मत कार्य सम्पन्न हुने इन्जिनियर तोरसले उज्यालो अभियानसँग बताए । उनका अनुसार ‘ब्यारिङ प्याडेस्टल’ को मर्मत पछि पुलको दबिएको भागलाई उठाएर मात्रै ढलान गरिने छ ।
पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने छ । पुलमा समस्या आएपछि केही दिनअघि काठमाडौँस्थित पुल महाशाखाको टोली आएर निरीक्षण गरी फर्किएको थियो ।
सो टोलीमा आएका प्राविधिकको निर्देशन बमोजिम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्राविधिकले नै मर्मतको काम गर्न लागेका हुन् ।