logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पुनः बाक्लो हुस्सु र तुसारो


  • उज्यालो अभियान

कविलासी नगरपालिकास्थित सलेमपुर चोक क्षेत्रको दृश्य ।

लालबन्दी, २५ माघ – सर्लाहीमा आज पुनः बाक्लो हुस्सु लागेर तुसारो पर्दा जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको सबैजसो भेगमा सय मिटर अगाडिको दृश्य समेत देख्न मुस्किल पर्ने गरी बाक्लो हुस्सु लागेर तुसारो झरिरहेको स्थानीयले जानकारी दिएका छन् । यसअघि हिजो बिहान पनि हुस्सु लागेर शित झरेको थियो ।

आज भने थप बाक्लो मात्रामा हुस्सु लागेर तुसारो परिरहँदा स्थानीयले चिसो महशुस गरेका छन् । न्यानो कपडा नभएका गरिब तथा अतिविपन्न परिवारलाई आज पुनः कठ्यांग्रिदो चिसो भएपछि समस्यामा पारेको छ ।

बाक्लो हुस्सुले गर्दा अहिले पूर्व पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा गुड्ने सवारी साधन प्रभावित बनेका छन् । प्रत्येकजसो सवारी साधन बत्ती बालेर कम गतिमा गुडिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले यस्तो मौसममा भिजिविलिट कम भई सवारी दुर्घटनाको जोखिम रहेकाले सवारी साधन चलाउँदा वा सडकमा पैदल हिँड्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसम प्रतिकुल बन्दा काममा निस्कनुुपर्ने मजदुर, हाटबजारसम्म तरकारी पुुर्याउनुुपर्ने तथा खेतबारीको काम गर्नुपर्ने किसान, विद्यालय जानुुपर्ने विद्यार्थी, काममा निस्कनुपर्ने कर्मचारी र अतिआवश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुलाई समस्या उत्पन्न भएको छ ।