logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कविलासी नगरपालिकामा कर्मचारीले गरे तालाबन्दी, स्तर र तह वृद्धि नगरेपछि असन्तुष्टि


  • उज्यालो अभियान

कविलासी, २४ माघ – स्तर र तह वृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत कर्मचारीले हिजोबाट पालिकामा तालाबन्दी गरेका छन् ।

पालिकाले स्तर र तह वृद्धिको लागि ढिलाई गरेकोले कर्मचारी पालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दीमा उत्रिएका हुन् । पुष महिनामै स्तर र तह वृद्धि गर्नुपर्नेमा अहिलेसम्म पालिकाले आनाकानी गरेको भन्दै आफूहरूले तालाबन्दी गरेको कर्मचारीले बताएका छन् ।

पालिकाले स्तर र तहवृद्धिका लागि सूचना प्रकाशित गरेको थियो । सूचनाबमोजिम आफूहरूले सम्पूर्ण कागजात पूरा गरी आवेदन समेत दिएको र अहिलेसम्म पालिकाले कुनै सुनुवाई नगरेको कविलासी नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले बताए ।

पालिकाले स्तरवृद्धिको नाममा आलटाल गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको रायले बताएका छन् । संविधानप्रदत्त हकअधिकारलाई समेत ख्याल नगरी कर्मचारीको वृद्धि विकासमा पालिकाले बाधा पु¥याउने काम गरेको रायको आरोप छ ।

पालिकाले स्तरवृद्धि नगरेपछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुुझाइएको र माग पूरा नभएसम्म तालाबन्दी अनिश्चितकाल सम्म जारी राखी आफूहरू धर्नामा बस्ने कर्मचारीको भनाई छ । समस्या समाधानका लागि आफूले पहल सुरु गरेको नगरप्रमुख ब्रहम्देव राय यादवले बताए ।

प्रमुख प्रशासकीय अधिकृत अहिले काम विशेषले बाहिर रहेको र आउने बित्तिकै समस्या समाधानका लागि पहल गरिने नगरप्रमुख यादवले बताएका छन् । राजनीतिक उक्साहटमा आएर पालिकामा कर्मचारीले तालाबन्दी गरेको यादवको आरोप छ ।