logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सदरमुकाममै सडक निर्माण कार्य अलपत्र, स्थानीयलाई जहिल्यै आश्वासन मात्रै


  • उज्यालो अभियान

मलंगवा, २१ माघ – हुलाकी राजमार्ग अन्तर्गत सर्लाही सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको सडक निर्माण कार्य लामो समयदेखि अलपत्र रहँदा स्थानीय रुष्ट बनेका छन् ।

पछिल्लो पटक सडकमा चक्काजाम गरी टायर बालेर आन्दोलन सुरु गर्दा एक महिनाभित्र सडक कालोपत्रे हुने बताइए पनि काम अगाडि बढ्न नसकेपछि स्थानीय पुनः असन्तुष्ट बनेका हुन् । मलङ्गवाको मुख्य बजार क्षेत्र रहेको टावर चोक, राजश्री सिनेमा हल चोक, शिक्षा विकास तथा समन्वय इकाइ रहेको क्षेत्रमा हुलाकी सडक कालोपत्रे हुन सकेको छैन् ।

नाला निर्माण तथा सडकको क्षेत्रभित्र पर्ने जग्गा खाली गर्ने विषयमा विवाद हुँदा लामो समयदेखि काम रोकिएको हो । बेलाबेलामा काम हुने गरे पनि कामको गति अत्यन्त सुस्त रहेको स्थानीयको भनाई छ ।

स्थानीय वासिन्दाले पछिल्लो समय ठेकेदारले बद्मासी गरेर काम अघि नबढाएको आरोप लगाएका छन् । पटक–पटक भाका तोकेर ठेकेदारले कामै नगर्ने प्रवृत्ति रहेको मलङ्गवा निवासी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए ।

मलङ्गवाको हुलाकी सडक निर्माणमा दबाब दिन स्थानीयले पटक–पटक आन्दोलन गर्ने र ठेकेदारले स्थानीयलाई समय दिने तर काम नगर्ने परिपाटी दोहोरिँदै आएको छ । मुख्य बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा सडक आसपास घर भएका स्थानीय, व्यापारी र यात्रु धुुलोबाट हैरान रहेका छन् ।

सडकमा हिजोआज असाध्य धुलो उड्दा घरबाहिर निस्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीय युवा सोहन झाले गुनासो गरेका छन् । सर्लाहीका नागरिक समाज र मानव अधिकारकर्मीले ४ दिनअघि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भेटेरै मलङ्गवाको हुलाकी सडक कालोपत्रे र नाला निर्माणको सम्वन्धमा पहल गरिदिन माग गरेका छन् ।

हुस्सु लागिरहेर कालोपत्रेका लागि आवश्यक पर्ने तापक्रम नरहेकाले तत्कालै सडक कालोपत्रे नहुने भन्दै स्थानीय वासिन्दाले नैराश्यता व्यक्त गरेका छन् । हुलाकी सडक आयोजना जनकपुरले मलङ्गवा बजार क्षेत्रको सडकमा कालोपत्रेको काम पूरा गर्न ठेकेदारलाई बारम्बार ताकेता गरिरहेको बताउँदै आएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीमा मलङ्गवा बजार क्षेत्र र मलङ्गवाकै मुसैली गाउँमा मात्रै सडक कालोपत्रे हुन बाँकी छ । हुलाकी साजमार्गको केही स्थानमा पहिलो चरणको कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्न थालिसकेका छन् ।