बयलवास, २० माघ – सर्लाहीमा नक्कली नोटसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
जिल्लाको ईश्वरपुर नगरपालिका–१५, सोकनाह बजारबाट नक्कली भारतीय मुद्रासहित ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा–९, का २७ वर्षीय मुकेशकुमार सोनी रहेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
प्रहरीले सोनीको साथबाट भारतीय मुद्रा पाँचसय दरका एक थान र एकसय दरका २९ थान नक्कली नोट बरामद गरेको छ । बरामद नक्कली भारतीय नोट र पक्राउ परेका सोनीका सम्वन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
सोनीले ग्रामीण भेगका सोझासिधा नागरिकलाई झुक्याएर भारतीय नक्कली नोट दिएर ठगी गर्ने उद्देश्यका साथ घुमफिर गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले केही साताअघि जिल्लाको गोडैता नगरपालिका क्षेत्रबाट ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित सो कार्यमा संलग्न गिरोहलाई नै पक्राउ गरेको थियो ।