logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेपाली मह मूल्य श्रृंखलाको लागि बजार पहुँच कार्यक्रम लागू हुने


  • उज्यालो अभियान

लालबन्दी, १२ माघ – सर्लाहीमा नेपाली मह मूल्य श्रृंखलाको लागि बजार पहुँच कार्यक्रम संचालन हुने भएको छ ।

यूनाइटेड नेशन्स इन्डष्ट्रियल डेभलपमेन्ट अर्गनाईजेशन (यूनिडो) को सहयोगमा यो कार्यक्रम लागू हुने भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, पाल्पा, मकवानपुर र चितवन जिल्लासँगै सर्लाही पनि यो परियोजना संचालनका लागि छनौटमा परेको हो ।

नर्वे सरकारको सहयोग रहेको यस परियोजनाले उच्च गुणस्तरको मह बिक्रीमार्फत नेपालका परियोजना लागू भएका जिल्लाहरुमा साना मौरीपालक, लघु साना मझौला उद्यमी र मह प्रशोधकका लागि जीविकाका अवसर सुधार गर्ने र नेपाली महको आन्तरिक, क्षेत्रीय तथा अन्तराष्ट्रिय बजार पहुँच विस्तार गर्ने परियोजनाको उद्देश्य रहेको छ । परियोजनाबारे आज लालबन्दीमा जिल्ला स्तरीय सरोकारवाला परियोजना अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।

नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेको अध्यक्षता तथा मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुुषाका निर्देशक जितेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा खाद्य प्रविधि गुणस्तर नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख भरतबहादुर पुरी, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद कुशवाहा, नेपाल मौरीपालक महासंघका केन्द्रिय अध्यक्ष सुवासचन्द्र घिमिरेसहित लालबन्दी, हरिवन, ईश्वरपुर र बागमतीका मौरीपालक किसानको सहभागिता रहेको थियो ।

पहिलो पटक संचालन हुन लागेको यस परियोजनाको सम्वन्धमा यूनाइटेड नेशन्स इन्डष्ट्रियल डेभलपमेन्ट अर्गनाईजेशन (यूनिडो) का नेशनल टेक्लिकल को-अडिनेटर जगदिशभक्त श्रेष्ठ,  नेशनल क्वालिटी इन्फास्ट्रक्चर एक्सपर्ट मन्जु क्षेत्री र परियोजनाका नेशनल भ्यालु चेन एक्सपर्ट सुरेश बरालले प्रष्ट पारेका थिए ।