logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा बाक्लो हुस्सु र तुुसारो यथावत्, चिसोले जनजीवन कष्टकर


  • उज्यालो अभियान

मलंगवा, १० माघ – सर्लाहीमा बाक्लो हुस्सु र तुुसारो पर्नेक्रम जारी रहेको छ ।

यहाँ हिजो दिनभर घाम लाग्न सकेन । आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर अत्यधिक तुसारो परिरहेको हो ।

बाक्लो मात्रामा तुसारो परिरहेकाले सडक तथा रुखविरुवा पानी परेर भिजेको झैँ देखिएका छन् । माघको यो जाडोले बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, अशक्त, असहाय प्रभावित बनिरहेका छन् । बाक्लो हुस्सु र तुसारोका कारण विद्यालय जानुपर्ने बालबालिका, काममा निस्कनुुपर्ने कर्मचारी, यात्रु, किसान, मजदुर प्रभावित बनिरहेका छन् ।

किसानले बाक्लो हुस्सु र तुसारोका कारण वस्तुुभाउ तथा बालीनाली जोगाउन मुस्किल परेको गुनासो गरेका छन् । अत्यधिक चिसोका कारण सडक, बजारमा मानिसको उपस्थिति कम देखिन्छ ।

अहिले धेरैजसोमा चिसोका कारण रुघाखोकी, ज्वरो, टाउको, छात्ती तथा घाँटी दुख्ने, कोल्ड डायरिया, शरीर कमजोर भएको महशुस हुने जस्ता स्वास्थ्य समस्या बढेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाक्लो हुस्सु लागेर नजिकैको दृश्य देख्न समेत मुस्किल रहेकाले सडकमा हिँड्ने यात्रु तथा सवारी साधनलाई यात्रा गर्न अप्ठेरो पर्दै आइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले यस्तो समयमा सवारी साधनको गति सिमित गर्न र बत्ती बालेर मात्रै चलाउन आग्रह गरेको छ ।

मौसम खराब भएर सिमरा, जनकपुरलगायत तराईका विमानस्थलबाट नियमित हवाई उडान नहुँदा अत्यावश्यक काम परेर विमानमार्फत काठमाडौं जानुपर्ने सर्लाहीसहित मधेशका जिल्लाका सर्वसाधारण सडक मार्ग हुँदै संघीय राजधानीसम्म आउजाउ गरिरहेका छन् ।