यो पुरानो तस्बीर हो ।
घुर्कौली, ०७ माघ – सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीको वडा कार्यालयले जानकीनगर वन क्षेत्रमा केही दिनदेखि जंगली हात्ती देखा परिरहेकाले सर्तकता अपनाउन वडावासीसँग आग्रह गरेको छ ।
वडाध्यक्ष सन्तलाल घिसिङ्गले आज सूचना जारी गर्दै जानकीनगर साझेदारी वन क्षेत्रमा जंगली हात्तीको बथान देखा परेकाले जंगलमा प्रवेश नगर्न र वन नजिकको बाटो प्रयोग गर्दा सजग रहन आग्रह गरेका छन् । तीनवटा जंगली हात्तीले विगत केही दिनदेखि हरिपुर नगरपालिकाको १ नं. वडा जानकीनगर क्षेत्रमा व्यापक आतंक मच्चाइरहेको छ ।
रात पर्नासाथ जंगलबाट हात्ती निस्किएर घरका बेराघेरा भत्काउने, भित्र थन्काएर राखिएको अन्न खाइदिने र खेतबारीमा लगाएको बालीनाली खाने तथा खुँदेर नष्ट पार्ने गरिरहेको छ ।
जंगली हात्तीले जानकीनगर जंंगलमा आएर अड्डा जम्माएपछि जानकीनगर, घुर्कौली, मुर्तियालगायत क्षेत्रका स्थानीय त्रसित बनिरहेका छन् ।