logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा बाक्लो हुस्सु र शीतलहर कठ्यांग्रिदो चिसोले जनजीवन प्रभावित


  • उज्यालो अभियान

लालबन्दी, ०७ माघ – सर्लाहीमा आज अत्यन्त कठ्यांग्रिदो चिसो रहेको छ ।

यहाँ हिजो दिउँसोदेखि स्याँठ चलेर चिसो बढेको हो । स्याँठ रोकिए पनि गएसाँझदेखि नै चलिरहेको शीतलहर भने आज पनि जारी छ । अत्यधिक चिसोका कारण न्याना कपडा नरहेका अतिविपन्न तथा दलित परिवार सबैभन्दा बढी समस्यामा परेका छन् । यो चिसोमा मुसहर, डोम, चमारजस्ता पिछडिएको परिवार चिसोबाट ज्यादा प्रभावित हुने गरेका छन् ।

अहिले स्वास्थ्यमा चिसो गढ्दा विभिन्न किसिमका स्वास्थ्य समस्या बढ्ने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाक्लो हुस्सु लागेकाले किसानलाई दैनिक कामकाज गर्न तथा अत्यावश्यक काम परेकाहरुलाई बाहिर यात्रा गर्न नै समस्या परेको छ ।

अत्यधिक हुस्सु लागेर भिजिबिलिट कम रहेकाले पूर्व पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधनहरु बत्ती बालेर गुडिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले यस्तो मौसममा सडकमा पैदल हिँड्दा तथा सवारी साधन चलाउँदा उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

अत्यधिक चिसोका कारण जिल्ला सदरमुकाम मलंगवासहित लालबन्दी, नवलपुर, हरिवन, बयलवास, बरहथवा, हरिपुरलगायतका बजारमा मानिसको उपस्थिति न्यून देखिन्छ ।

हिजो साँझदेखि एक्कासी बढेको चिसोका कारण पन्छी तथा वस्तुभाउलाई जोगाउन र घाँस, कुडो गर्न समेत समस्या परेको किसानले गुनासो गरेका छन् । यो हुस्सुले गोलभेँडा, आलु र अन्य तरकारी बालीमा ठण्डीजन्य संक्रमण लाग्ने भन्दै किसान चिन्तित बनेका छन् ।