बागमती, ०५ माघ – सर्लाहीको बागमती नगरपालिकामा हिजोबाट सुरु भएको बृहत आँखा परीक्षण शिविर अन्तर्गत आज दोस्रो दिन ३३९ जनाको आँखा परीक्षण गरिएको छ ।
बृहत निःशुल्क आँखा शिविर अन्तर्गत आज दोस्रो दिन बागमती–७, स्थित जानकी जनता प्राथमिक विद्यालय मिथिलापुरमा क्याम्प संचालन गर्दा ३३९ जनाको आँखा जाँच गरिएको हो । त्यसमध्ये ३६ जनामा मोतिया विन्दु फेला परेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले जानकारी दिए ।
नगरपालिका कार्यालयले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर प्रारम्भ गरेको हो । हिजो पहिलो दिन बागमती नगरपालिका–९, स्थित जनजागृति प्राथमिक विद्यालय लालबन्दी टोलमा आयोजना गरिएको शिविरमा २४० जनाको आँखा परीक्षण गरिएकोमा ४३ जनामा मोतिया विन्दुको समस्या देखिएको थियो ।
मोतिया बिन्दुका सबै बिरामीलाई माघ १२ गतेदेखि १४ गतेसम्म बागमती नगरपालिका–५, स्थित जनता माध्यमिक विद्यालय सोल्टीमा आयोजना हुने मोतिया बिन्दुको शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रियाको प्रवन्ध मिलाइएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।
आँखा परीक्षण शिविर क्रमश ः नगरका विभिन्न वडाका आठ स्थानमा माघ ११ गतेसम्म सञ्चालन गरिने छ । बागमती नगरपालिकाले वर्षेनि गर्दै आइरहेको निःशुल्क आँखा परीक्षण शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया कार्यक्रम यो वर्ष समेत गरी छैठौं पटक सुरु भएको हो ।
शिविरमा आँखा परीक्षण तथा मोतिया बिन्दुको शल्यक्रियाका लागि तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँबाटै चिकित्सक र प्राविधिक बागमती आइपुगेका छन् ।