logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लायन्स क्लबद्वारा कम्बल र सारी वितरण


  • उज्यालो अभियान

नवलपुर, ०५ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आज सिरक र सारी वितरण गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एच का कोषाध्यक्ष सुदामा कार्कीको व्यक्तिगत पहलमा आश्रमका लागि १५ थान सिरक प्रदान गरिएको हो । यस्तै लायन्स क्लब अफ लालबन्दी सिटीले आश्रममा आश्रय दिएर राखिएका आमालाई १३ थान सारी वितरण गरेको छ । क्लबका अध्यक्ष दीपक थापाले आश्रमकी संरक्षक भवानी कोइरालालाई सिरक र सारी हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ लालबन्दी सिटीका संस्थापक अध्यक्ष दीपेन्द्र अधिकारी, पूर्व अध्यक्षहरु चिरन्जीवी खतिवडा, विकल जर्गा मगर, धर्मराज थापा, उपाध्यक्ष रेवन्तराज तिमल्सिना, राधेश्याम गुप्ता, महेश महतोलगायतको उपस्थिति रहेको थियो ।

यस्तै आज नै क्लबले हरिवन १ कैलाशपुरीस्थित मानव सेवा आश्रममा १५ थान कम्बल र १५ थान सारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीलाई १० थान कम्बल, नगर अस्पताल लालबन्दी (डुमडुमे) लाई १० थान सिरक, लालबन्दी १६ मा १० परिवार, लालबन्दी ७ र १५ मा एक/एक परिवार अतिविपन्नलाई कम्बल वितरण गरिएको क्लबका पूर्व अध्यक्ष विकल जर्गा मगरले जानकारी दिए ।

लायन्स क्लबले केही दिनअघि पनि लालबन्दीका विभिन्न वडाका चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको थियो ।