logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चिसोबाट प्रभावित ६१ परिवारलाई सिरक वितरण


  • उज्यालो अभियान

मलंगवा, ०३ माघ – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले बिहीबार विष्णु गाउँपालिका–१, मा चिसो प्रभावित ६१ परिवारलाई राहतस्वरुप फाइबर सिरक वितरण गरेको छ ।

बढ्दो चिसोबाट प्रभावित बनेका अतिविपन्न तथा दलित परिवार छनौट गरी ६१ घरधुरीलाई एक/एक थान फाइबर सिरक वितरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठ आफै सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका पुगेर चिसोले कठ्यांग्रिएका परिवारलाई फाइबर सिरक वितरण गरेका छन् ।

कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहलगायत भएर चिसोले प्रभावित भएका परिवारलाई सिरक वितरण गरेका छन् ।

यसैबिच, एक साताअघि सर्लाहीमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बिहीबार जिल्लास्थित कार्यालय प्रमुखहरुसँग परिचयसहित नियमित बैठक गरेका छन् ।

प्रत्येक महिना बस्ने कार्यालय प्रमुखको बैठकमा नवआगन्तुक सिडिओ श्रेष्ठसँग जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले परिचय गर्दै समग्र कार्यालयहरुको सेवा–प्रवाहका विषयमा छलफल समेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।