logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुुई हप्तासम्म दैनिक ७ घण्टा बत्ती काटिने 


  • उज्यालो अभियान

मलंगवा, १४ पुस – सदरमुकाम मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले दुुई सातासम्म दिनभरजसो बत्ती अवरुद्ध गरेर तार फेर्ने काम गर्ने भएको छ ।

वितरण केन्द्रले आज एक सूचना जारी गर्दै पुस १५ गतेदेखि २९ गतेसम्म मलङ्गवा वितरण केन्द्र अन्तर्गतको सम्पूर्ण क्षेत्रमा बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म बत्ती अवरुद्ध हुने जनाएको हो । वितरण केन्द्रका इन्जिनियर रन्जय महतोले नवलपुरस्थित ग्रिड सवस्टेशनदेखि मलङ्गवासम्म तानिएको ३३ केभी लाइनको पुरानो तार हटाएर नयाँ तार लगाउन (कडक्टर अपग्रेडिङ) गर्न लागिएको उज्यालो अभियानसँग बताए ।

गएको बैशाख/जेठमा दिनभरजसो बत्ती काटेर केही दिन तार फेर्ने काम गरेपनि त्यसबेला अत्यधिक गर्मीका कारण बत्ती अवरुद्ध गर्दा चौतर्फी गुनासो आएपछि तार फेर्ने काम रोकिएको थियो । पछि किसानले आ–आफ्नो खेतमा धान लगाएपछि तार फेर्ने काम तत्काल अघि बढ्न सकेन ।

अहिले किसानले धान भित्याएर खेत खाली भएको अवस्था रहेको र गर्मी पनि नरहेकाले यही मौकामा तार फेर्ने काम गर्न लागिएको इन्जिनियर महतोको भनाई छ । उनले अहिले पनि दिनभर नै बत्ती काट्दा समस्या हुने गरेपनि यो बेलामा तार फेर्ने काम नगरे गर्मीयाममा विद्युुत् प्रवाहमा छिनछिनमै समस्या आइरहने बताए ।

अत्यन्त पुरानो र कम क्षमताको तार हुँदा विशेष गरी गर्मीयाममा भार थेग्न नसकेर तार चुँडिने समस्या बारम्बार आएपछि प्रादेशिक कार्यालय जनकपुरमार्फत ठेक्कामा तार फेर्ने काम हुन लागेको मलङ्गवा वितरण केन्द्रले जनाएको छ । अहिले १०० स्क्वायर एमएमको तार रहेको नवलपुर–मलङ्गवा लाइनमा अब १५० स्क्वायर एमएमको तार हाल्न लागिएको इन्जिनियर महतोले बताए ।

उनका अनुसार पुस १५ गतेदेखि पुुस २९ गतेसम्म मलङ्गवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा पर्ने सदरमुकाम मलङ्गवासहित हरिपूर्वा, पर्सा, चन्द्रनगर, ब्रह्मपुरी, कविलासी, चक्रघट्टा, कौडेना, बलरा, गोडैता, विष्णु, रामनगरलगायत एक दर्जन पालिकामा दैनिक सात घण्टा विद्युत् अवरुद्ध हुने छ ।