हरिवन, १३ पुस – सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्गलाई जोड्ने सडक निर्माणका लागि आज दुई मन्त्रीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।
उद्योग वाणिज्य सङ्घ हरिवनको आयोजनामा मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव र बागमती प्रदेशका अर्थमन्त्री कुुन्दनराज काफ्लेसहितको टोलीले सडकको स्थलगत अवलोकन गरेको हो । भारतीय बोर्डरसँग टासिएको सर्लाहीको विष्णु गाउँपालिकादेखि पूर्व–पश्चिम राजमार्गस्थित हरिवनसम्म अहिले पनि कालोपत्रे सडक नै रहेको छ ।
हरिवनदेखि सिन्धुलीको क्यानखोलासम्म केही ठाउँमा कालोपत्रे, केही ठाउँमा ढलान, केही ठाउँमा ढुुङ्गा बिछ्याइएको र थोरै ठाउँमा मात्रै कच्ची सडक रहेको छ । क्यानखोलादेखि उत्तर मदन भण्डारी राजमार्गको मरिणसम्म भने खोलाको बगर भएर हिउँदयाममा बस, बोलेरो, मोटरसाइकललगायतका सवारी साधन चल्ने गरेका छन् ।
हरिवनदेखि मदन भण्डारी राजमार्गसम्म पक्की सडक पुु¥याउन सके सङ्घीय राजधानी काठमाडौँसँगको दूरी छोटो हुने तथा व्यापारिक हिसाबले पनि सर्लाही र सिन्धुली दुवै जिल्लाका स्थानीयलाई ठूलो लाभ मिल्ने भएकाले उद्योग वाणिज्य सङ््घ हरिवन आयोजक भएर आज दुवै प्रदेशका अर्थमन्त्रीसहितको टोलीलाई स्थलगत निरीक्षण गराइएको उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुुढाथोकी (कमल) ले हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीतर्फ अब डेढ किलोमिटर सडक मात्रै ढलान तथा कालोपत्रे हुन बाँकी रहेकाले त्यो पनि चालूू आर्थिक वर्षभित्रै सम्पन्न हुने बताए । हरिवन ८ स्थित चापिनी खोलामा पक्की पुल निर्माण भइरहेको र सो पुल पनि फागुुनभित्र निर्माण सम्पन्न हुने भएकाले त्यसपछि सर्लाहीतर्फको खण्डमा समस्या नपर्ने नगरप्रमुख बुुढाथोकीले बताए ।
सडकको निरीक्षणमा निस्कनुुअघि हरिवन चोकमा आयोजित सभालाई सम्वोधन गर्दै मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले यस सडकलाई प्रदेश सरकारकै गौरवको आयोजनाका रुपमा राखेर बजेट विनियोजन गर्न आफू तयार रहेको बताए । उनले प्रमुख राजमार्ग बनाउन सङ्घीय सरकारको पनि साथ आवश्यक रहेको उल्लेख गरेका छन् ।
बागमती प्रदेश सरकारका अर्थमन्त्री कुुन्दनराज काफ्लेले यो सडक निर्माणको काम पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको सम्झेर पहल अघि बढाउने प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेसका नेता विनोद खनालले हरिवन–क्यानेश्वर सडक रणनीतिक सडक बन्न सक्ने भन्दै आफूले पहिलेदेखि नै आवाज उठाइरहेको र सोहीक्रममा आज दुवै प्रदेशका अर्थमन्त्रीलाई बोलाएर स्थलगत निरीक्षण गराएको जानकारी दिए ।