बागमती, १० पुस – सर्लाहीको बागमती नगरपालिका–६, चन्दनघाटमा अवैध रुपमा ‘मोवाइल क्रसर’ संचालन गरेर नदीजन्य पदार्थ उत्खनन गरिरहेको पाइएको छ ।
क्रसर उद्योगको अनुुगमनमा निस्किएको जिल्ला प्रमुखहरुको टोलीले हिजो अपरान्ह बागमती नदीको किनारमा अवैध रुपमा संचालन भइरहेको मोवाइल क्रसर फेला पारेको हो । कुनै पनि निकायमा दर्ता नै नगरी ट्याक्टरमा क्रसर जडान गरेर गिट्टी बालुवा तयार पार्ने र अवैद्य ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अनुुगमन टोलीले ट्याक्टरमा जडान गरेर यताउता हिँडाउन मिल्ने क्रसर एक थान, ट्याक्टर तीन थान र स्काभेटर एक थान बरामद गरेको छ । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत रामरिझन यादवले क्रसर उद्योगको अनुुगमन गर्नुभएको हो ।
टोलीले गएको जेठ १३ गते नै अवैध ठहर गर्दै बन्द गर्ने निर्णय भएको हरेकृष्ण इन्फा इन्डष्ट्रीज प्रा.लि. बागमती नगरपालिका ४ को समेत हिजो नै अनुुगमन गरेको छ । मापदण्ड पूरा नगरेकाले अवैध रहेको भनी निर्णय गरिएको यो क्रसर उद्योग समेत लुकिछिपी संचालन भइरहेको गुनासो आएपछि जिल्लाका प्रमुखहरुले निरीक्षण गरेको हो ।
अवैध उद्योगलाई सञ्चालन हुुन नदिन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी बिजुली काटिएको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले यही पुस ६ गते रानिगन्जस्थित प्रिन्स क्रसर उद्योगको अनुुगमन गरी अवैध रहेको यो उद्योग पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको थियो ।
मापदण्ड पूरा नभएको भन्दै गएको जेठ १३ गते लालबन्दी १७ को प्रिन्स, बागमती ७ को जय माँ दुुर्गा र बागमती ४ को हरेकृष्ण क्रसर उद्योगलाई पूूर्णरुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।