लालबन्दी, २ फागुन – “कृषि, पर्यटन, व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित लालबन्दीमा यही फागुन १० गतेदेखि १९ गतेसम्म हुन लागेको प्रथम लालबन्दी महोत्सवबारे आज यहाँका राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ ।
महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यसहित आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले आफ्नै सभा हलमा नगरभित्र क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सामाजिक संघसंस्थाका पदाधिकारीसँग छलफल गरेको हो । सहभागीले महोत्सव सफल पार्न आ–आफ्नो तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीको अध्यक्षतामा आयोजित छलफलमा प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, नगरभित्र क्रियाशील विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

महोत्सवलाई सफल बनाउने उद्देश्यले आज नै लालबन्दी नगरभित्रका संस्थागत विद्यालयका संचालकहरुसँग छलफल गरिएको उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।
संघका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले अस्ताइरहेको र कठीन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सव आयोजना गर्न ७१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
१० दिनसम्म आयोजना हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ । महोत्सवमा उद्योग वाणिज्य सङ्घमा आवद्ध व्यापारीलाई स्टल राख्दा सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ स्टल शुल्क निर्धारण गरिएको छ । महोत्सवमा मनोरञ्जनस्वरुप स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।