logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी महोत्सवमा ५० हजार दर्शक आउने अनुमान


  • उज्यालो अभियान

लालबन्दी, १ फागुन – यही फागुन १० गतेदेखि १९ गतेसम्म उद्योग वाणिज्य संघले प्रथम लालबन्दी महोत्सव आयोजना गर्दै छ ।

आज पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको हो । “कृषि, पर्यटन, व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित लालबन्दी नगरपालिका ६ स्थित खेल मैदानमा महोत्सव आयोजना गर्न लागिएको हो ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले आर्थिक मन्दीले शिथिल भएको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराए । महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको अध्यक्ष बलम्पाकीले सुनाए ।

महोत्सवमा उद्योग वाणिज्य सङ्घमा आवद्ध व्यापारीलाई स्टल राख्दा सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ स्टल शुल्क निर्धारण गरिएको छ । महोत्सवमा मनोरञ्जनस्वरुप स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने छ ।

आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ । ज्येष्ठ नागरिक र अशक्तलाई टिकट आवश्यक पर्ने छैन् ।