महासमिति चयन गर्न जानकी मा.वि. मा शुक्रबार भएको मतदान ।
लालबन्दी – लालबन्दीमा जारी नेपाली कांग्रेस क्षेत्र नं. १ को महासमिति सदस्य निर्वाचन अन्तर्गत अहिले मतदान जारी छ ।
लालबन्दी ७ स्थित बजारमा रहेको जानकी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्ने छ । यस क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन गर्न ८४२ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने छन् । दिउँसो २ः४५ बजेसम्मको विवरण अनुसार ६३० जनाले मतदान गरेका छन् ।
महासमिति सदस्य निर्वाचनमा कांग्रेसको संस्थापन र संस्थापन इतर दुवै समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षबाट आदिवासी जनजातिमा शम्भुलाल श्रेष्ठ, खस आर्यमा नवराज अधिकारी, खुल्लामा प्रमोदकुमार बराल, शेष सहदुल्लाह, कन्चन साह, सुरेन्द्रकुमार न्यौपाने र बासुदेव अधिकारी रहेका छन् ।
यस्तै, खुल्ला महिलामा रेखा जोशी, दलितमा जुना परियार र मधेशीमा रामबाबु साह रहेका छन् ।
यसैगरी, संस्थापन इतर पक्षबाट आदिवासी जनजातिमा सत्यदेव सिंह दनुवार, महिलातर्फ लक्ष्मी गोले प्रधान र सुशीला कार्की, प्रत्यक्ष खुल्ला तर्फबाट शिवकुमार गुर्मछान, योगराज देवकोटा, रामचन्द्र चौधरी, दीपक अधिकारी, पम्फा लामा श्रेष्ठ, खसआर्यमा उद्धवप्रसाद पौडेल, मधेशीमा सोनेलाल साह र दलितमा कुशबहादुर वि.क. रहेका छन् ।
निर्वाचन समितिका अनुसार अपरान्ह ४ बजे मतदान सकिएपछि आजै साँझदेखि मतगणना सुरु गरिने छ ।
सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ४ मा जिल्ला अधिवेशनकै निर्वाचनताका मतदानबाटै र क्षेत्र नं. ३ मा केही दिनअघि सर्वसहमतीबाट महासमिति सदस्य चयन गरिसकिएको छ । क्षेत्र नं. २ मा भने केही विवाद छ ।