तिनतले (परवानिपुर) – खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् ।
मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पुरै खडेरी जाँदा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भित्याइरहेका छन् ।
यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेभेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् ।
चुरेभेगको मुख्य बाली नै मकै हो । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका किसान धनबहादुर भुजेलले यो वर्ष खडेरीका कारण मकै बालीबाट लागत समेत नउठेको गुनासो गरेका छन् ।
१० बोरा मकै फल्ने बारीमा यो वर्ष दुई बोरा मकै पनि नआएको भुजेलले बताउनुभयो । “खडेरीले मकैको बोट नै सुकेको थियो, धन्न असारतिर आएर परेको एक झर पानीले जसोतसो बोट जोगियो,” भुजेलले भने, “लामो खडेरी खेप्नु परेकाले मकैमा घोगा लाग्नै पाएन, लागेको घोगा पनि पुड्का र थोते भए ।”
मकै उत्पादन राम्रो हुने उत्तरी भेगका अधिकांश किसानले मकै बेचेरै धान खरिद गर्ने गर्छन् । तर यो वर्ष मकै नै नफलेका कारण किसान मारमा परेका छन् ।
लालबन्दी नगरपालिका–१५, तिनतलेका किसान वीरसिंह घिसिङले मकै उत्पादन राम्रो नहुँदा खाद्यान्नकै अभाव हुने चिन्ता रहेको गुनासो गरेका छन् । “खडेरीले मकै फल्दै फलेन, हाम्रो त मुख्य खाद्यान्न बाली नै यही हो, यो साल के खानेखोला भन्ने चिन्ता छ,” घिसिङले भने ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले यो वर्ष मकै खेती गर्ने किसान खडेरी र फौजी किरा दुवैबाट अत्यन्त प्रभावित हुनु परेको बताए । उनका अनुसार विगत तीन वर्षदेखि फौजी किराको प्रकोप खेपेका किसानले यो वर्ष खडेरीको मार समेत खेप्नु परेको हो ।