बलरा – सर्लाहीका किसानले सख्खर (मिठ्ठा) बनाउने क्रसर उद्योगलाई सस्तो मुल्यमा उखु बिक्री गरिरहेका छन् ।
विशेष गरी जिल्लाको दक्षिणी भेग र सीमावर्ती क्षेत्रका किसानले क्रसर उद्योगलाई न्यून मुल्यमा उखु बिक्री गरिरहेका हुन् । चिनी उद्योगमा उखु बिक्री गरेको महिनौँसम्म पनि भुक्तानी नपाउने समस्याले गर्दा क्रसर उद्योगलाई सस्तो मूल्यमा उखु बिक्री गर्नुपरेको किसानले बताएका छन् ।
सरकारले यस वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपैयाँ निर्धारण गरेको छ । यहाँका किसानले क्रसर उद्योगलाई भने प्रतिक्विन्टल ३५० रुपैयाँदेखि ४०० रुपैयाँँमै उखु बिक्री गरिरहेका छन् ।
जिल्लाको गोडैता नगरपालिका–११, सिसौटियाका किसान रामजनम रायले तुरुन्त पैसा पाइने भएकाले क्रसर उद्योगलाई उखु बेच्ने गरेको बताए । “चिनी मिललाई उखु दिँदा पैसा कहिले पाउने हो ठेगान हुँदैन तर क्रसरमा दियो भने त तुरुन्त पाइन्छ,” रायले भने “हामी किसानलाई उखु बेचेरै व्यवहार टार्नुपरेको हुन्छ त्यसैले सस्तोमै भए पनि क्रसर उद्योगमै उखु लान्छौँ ।”
क्रसर उद्योगलाई उखु बेच्नु आफूहरुको बाध्यता रहेको रायको गुनासो छ । सर्लाहीमा अहिले एक दर्जन भन्दा बढी क्रसर उद्योगले किसानबाट उखु किनेर धमाधम सख्खर बनाइरहेका छन् ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकारको कमजोरीका कारण किसान मारमा परेका बताए । सरकारले उखुको मूल्य तोक्नेबाहेक अन्य दायित्व निर्वाह नगरेको मैनालीको आरोप छ ।
“सरकारले किसानको माग गरे अनुसार कहिल्यै पनि उखुको मूल्य तोक्दैन्, जे जति मूल्य तोकिन्छ त्यसपछि किसानले भुक्तानी पाए नपाएको वस्ता हुँदैन्”, मैनालीले भने, “चिनी मिलबाट पैसा नै नपाएपछि किसानले कहीँ न कहीँ उब्जाएको बाली बेच्नै प¥र्यो, त्यसैले सख्खरमा लगेर उखु बुझाउँछौँ ।”