भेल्ही – हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रम्हपुरी गाउँपालिकास्थित भेल्ही बजारमा बुधबार ‘साइड क्लियर’ गरिएको छ ।
त्यहाँ विद्यालयको पर्खाल र केही व्यक्तिको निजी जग्गामा रहेको रुख हटाउन समस्या हुँदै आएको थियो । बुधबार जिल्लास्थित प्रमुखहरु नै पुगेर ‘साइड क्लियर’ गराई सडकको अवरुद्ध काम अघि बढाउने सहमती जुटाएका हुन् ।
विद्यालयभन्दा अर्कोतर्फ जग्गाधनीले आफूले केही फिट छाडिदिने समझदारी गरेपछि त्यहाँ अब ‘साइड’ को समस्या नआउने अपेक्षा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्णकुमार महतोलगायत पुगेर सम्झाइबुझाई गरी विवाद सुल्झाएका हुन् ।
भेल्ही बजारमा समस्या आउँदा मलंगवादेखि पूर्वतर्फको हुलाकी सडकको काम नै प्रभावित बनेको ठेकेदारका प्रतिनिधिले बताउँदै आएका छन् । सर्लाहीमा हुलाकी सडकको कतैकतै एक लियर कालोपत्रे भएपनि अधिकांश ठाउँमा काम अलपत्र छाडिँदा अहिले धुलोको अत्यधिक समस्या छ ।
हुलाकी सडक भएर सदरमुकाम मलंगवासम्म आउनुपर्दा दक्षिण–पूर्वी र दक्षिण–भेगका वासिन्दाले अत्यधिक धुलो खानुपर्ने बाध्यता छ ।