जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही ।
नवलपुर – सर्लाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ ६९ जना इन्स्पेक्टरको काज सरुवा निकाल्दा यहाँका ट्राफिक प्रहरी इन्चार्ज पनि परिवर्तन भएका हुनन् ।
अहिलेका ट्राफिक प्रहरी निरीक्षक इश्वर कार्कीको नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँमा काज सरुवा भएको छ । यहाँ नयाँ ट्राफिक प्रहरी निरीक्षकका रुपमा लेखनाथ मैनालीलाई काज सरुवा गरी पठाइएको छ ।
मैनाली नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, वृत्ति विकास तालिम शाखाबाट यहाँ आउने भएका हुन् । सर्लाहीमा सरुवाको लाइनमा रहेका अन्य केही प्रहरी निरीक्षकको भने तत्काल काज सरुवा गरिएको छैन् ।
एक वर्ष बिताइसकेका लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्की, हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरलगायत सरुवाको लाइनमा छन् ।
यस्तै, प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय हरिवनमा पनि नयाँ इन्स्पेक्टर पठाउने तयारी गरेको छ । केही साताअघि जिल्ला प्रहरी परिसर काठमाडौंँबाट प्रहरी निरीक्षक कृष्ण गिरीलाई यहाँ सरुवा गरेर पठाइए पनि गिरी सवारी दुर्घटनामा परेर घाइते भएपछि हरिवनमा नयाँ इन्चार्ज पठाउने तयारी भएको हो ।