logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बढ्यो गोलभेँडाको मूल्य, किसानलाई केही राहत


  • उज्यालो अभियान

अन्यत्र निकासीका लागि लालबन्दी बजारमा क्रेटमा गोलभेँडा हालिँदै । (फाइल तस्बिर : उज्यालो अभियान)

लालबन्दी – उत्पादनयामको अन्तिमतिर आएर भए पनि गोलभेँडाले राम्रो मूल्य पाउन थालेपछि सर्लाहीका किसान खुसी भएका छन् ।

केही साताअघिसम्म भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा बिक्री गर्नै समस्या परेको थियो । पछिल्ला दिनमा भने भारतीय गोलभेँडा भित्रिनेक्रम कम भएको र यहाँ पनि उत्पादन थोरै हुन थालेपछि मूल्य बढेको हो ।

अहिले यहाँका किसानले फलाएको गोलभेँडा प्रतिक्रेट ३५० देखि ४०० रुपियाँसम्ममा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ ।

यसरी थोकमा गोलभेँडा १५ रुपियाँ भन्दा बढी मूल्यमा बेच्न पाउँदा किसानलाई राम्रो आम्दानी हुन थालेको हो । लालबन्दी नगरपालिका–११ हीरापुरका किसान तिलबहादुर मोक्तानले गोलभेँडाले बजार भाउ पाउन थालेको भन्दै खुसी व्यक्त गरे ।

किसानले माघ मध्यतिर गोलभेँडा प्रतिक्रेट १५० देखि २०० रुपियाँसम्ममा बेचेका थिए । त्यतिबेला न्यून मूल्यमा गोलभेँडा बिक्री गर्न पनि किसानलाई गाह्रो परेको थियो । अहिले भने किसानले गोलभेँडाको राम्रै मूल्य पाइरहेका कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।

जिल्लाकै सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीमा किसानले ल्याएर बिक्री गरेको ३० टन बढी गोलभेँडा दैनिक काठमाडौँ, पोखरा, सिन्धुलीलगायत ठूला सहर बजारमा निर्यात हुने गरेको छ । लालबन्दी बजारका व्यापारी तोरबहादुर मगरले हिजोआज किसानलाई गोलभेँडा बेच्न कुनै समस्या नरहेको बताए ।

तरकारी बजारको अध्यक्ष समेत रहेका मगरले गोलभेँडा धेरै फल्दा किसानले भाउ नपाए पनि अहिले विस्तारै उत्पादन कम हुँदै गएपछि राम्रो भाउ पाउन थालेका बताए । सर्लाहीमा उत्तरी भेगका ईश्वरपुर, लालबन्दी, हरिवनसहित छेउछाउका पालिकामा गोलभेँडाको व्यावसायिक खेती हुन्छ ।

किसानले फलाएको गोलभेँडा लालबन्दी बजारसहित नवलपुर, सासापुर, हरिवनलगायत स्थानमा रहेका गोलभेँडा सङ्कलन केन्द्रमा ल्याएर बिक्री गर्ने गरेका छन् ।