हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, बेतालीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
सोमबार सम्पन्न अभिभावक भेलाले पूर्व शिक्षक चित्रप्रसाद भट्टराई (विनोद) अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा ६ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । व्यवस्थापन समितिको सदस्यहरुमा रेवतीप्रसाद प्रसाई, दीपक पौडेल, तारा बलम्पाकी, दुर्गामाया पाण्डे र यमबहादुर भुजेल रहेका छन् ।
यस्तै, भेलाले शिक्षक–अभिभावक संघ पनि गठन गरेको छ । शिक्षक–अभिभावक संघको संयोजकमा रामहरि घिमिरे, सदस्यहरुमा हुतराज निरौला, नवराज धमला, सर्मिला लुंगेली, सीता परियार, सरिता विक र ललिता कुमारी कुशवार रहेका छन् ।
वडाध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षतामा आयोजित अभिभावक भेलामा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंलगायतको आतिथ्यता रहेको थियो । भेलालाई सम्वोधन गर्दै मेयर बुढाथोकीले आफ्ना सन्ततीलाई निजी विद्यालयमा भर्ना गरेर सामुदायिक विद्यालयमा राजनीति नगर्न आग्रह गरे ।
उनले नगरभित्रका कुनै पनि सामुदायिक विद्यालयमा विद्यार्थीबाट शुल्क नलिने निर्णय गरी निजी स्रोतका शिक्षकलाई नगरबाटै तलब खुवाउने काम गरिरहेको बताए । वडाध्यक्ष ढुंगानाले आफू वडाभित्रका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रयत्नशील रहेको बताएका छन् ।