बागमती – सर्लाहीको बागमतीमा रहेको पशुपती सामुदायिक प्राथमिक विद्यालयमा पक्की भवन शिलान्यास गरिएको छ ।
शुक्रबार बागमती नगरपालिका–११, स्थित कर्मैयामा रहेको सो विद्यालयको नयाँ भवन शिलान्यास गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण हुन लागेको ४ कोठे पक्की भवनको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले शिलान्यास गरेकी हुन् ।
भवन अत्याधुनिक तथा भुकम्प प्रतिरोधी रहने विद्यालयले जनाएको छ । जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण लागत ४५ लाख रुपैयाँ रहेको नगर शिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए । भवन अभावमा बालबालिकाहरुले साँघुरो कक्षाकोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको थियो ।
भवन निर्माण भएपछि बालबालिकालाई पठनपाठनमा थप सहज हुने विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल थापाले जानकारी दिए । विद्यालय भवन शिलान्यास कार्यक्रममा पशुपति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री खड्का, शिक्षासेवी लम्बोधर काफ्ले, स्थानीय जनप्रतिनिधि, बिद्यालयका शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको बिद्यालयमा प्रधानाध्यापक त्रिलोकनाथ सिंहले बताए ।